वडा नम्बर १ को नाम तलुवा रहनाको कारण :
धेरै पहिले यस क्षेत्रमा बाहिङ् तोलोवाहरुको शासन थियो । यिनै तोलोवाहरुलाई पछि तोलाचा भन्न थालियो । तोलोचा बाहिङ् रुम्दालीहरुको एक पाछा हो । यहि तोलोचा शब्द अपभ्रंस भएर तलुवा भएको भनाई छ । अर्को प्रसंग त्यस ताका तलुवा पुग्ने पाहुनाहरुले पानी कहाँ छ भनेर सोध्दा तल छ भनेर जवाफ दिइन्थ्यो । बाहिङ् राइहरुले तल वाकु छ भन्थे । बाहिङ् भाषामा वाकु भनेको पानी हुन्छ । यही आधारमा तलवाकु शब्द अपभ्रंश भई तलुवा भएको भन्ने सन्दर्भ प्रचलनमा रहेको छ ।
वडा नम्बर २ को नाम ठुलाछाप रहनाको कारण :
पृथ्वी नारायण शाहको पूर्वी नेपाल एकीकरण सफल भएपछि आफूले जितेका ठाउँहरु चर्ची खानु भन्ने आदेश भएपछि सात वटा छापहरुको नामबाट नामाकरण भएको इतिहास कारहरुको भनाई छ । ती सातवटा छापहरु क्रमशः आँगेछाप, चुवानछाप, स्यावनछाप, ठुलाछाप, केउरिनीछाप, खनियाछाप र वानियाछाप हुन । यिनै छापहरुको आधारमा स्थानीय वुद्धिजीविहरुले ठुलाछाप नामाकरण गरेका थिए ।
वडा नम्बर ३ को नाम अधेरी नारायणस्थान रहनाको कारण :
धेरै पहिले यस क्षेत्रको माथिल्लो भागमा घना जंगल थियो । सधैं बादल लागेर अध्यारै हुन्थ्यो । त्यसैले यो भागलाई अधेरी भनियो । यसै क्षेत्रको असिनेको बीच भागमा सन् १९३१ मा स्थानीय ब्यक्ति इन्द्रबीर गुरुङ्ले काठमाण्डौंबाट चार नारायणका मूर्तिहरु ल्याएर वडाको बीच भागमा स्थापना गरे । त्यसपछि अधेरी र असिनेको भागलाई संयोजन गरी अधेरी नारायणस्थान नामाकरण गरियो भन्ने पुराना अभिलेखहरुमा देखिन्छ ।
वडा नम्बर ४ को नाम रुम्जाटार रहनाको कारण :
यस वडाको नामाकरण सम्बन्धमा धेरै पहिले यस क्षेत्रमा रुम राइहरुको शासन थियो । नेपाल एकीकरण अभियानमा पृथ्वी नाराययण शाहका गुरुङ् र राई पल्टनले यस क्षेत्रमा आक्रमण गरे । यस क्षेत्रमा विजय प्राप्त गरेपछि लामा गुरुङ्हरुको बसोवास शुरु भयो । राइहरुको पैत्रिक थलो भएकोले रुम वा रुम्जा भनिएको र सिस्नेखोलाको पूर्वमा ठोटनेखोलाको पश्चिममा प्रायव्दिप झै बनेको भूभाग अग्लिएर माथिसम्म परेको हुनाले रुम्जाटार नाम रहन गएको हो भन्ने भनाई रहेको छ ।
वडा नम्बर ५ को नाम बर्नालु रहनाको कारण :
यसलाई पहिला चुप्लु चुल्हो भनेर चिनिन्थ्यो । रुम्जाटारमा गुरुङ्हरुको बसोवास भएपछि चुप्लुको सिमसार क्षेत्रमा आलुखेति तथा भेडापालन शुरु गरियो । उर्वर माटो भएको हुनाले यो ठाउँको वनमा प्रशस्त आलु फल्न थालेपछि चुप्लु वनका आलु भन्ने गरियो । पछि यही शब्द अपभ्रंश भएर भेडा ब्यवसायीहरुबाटै यो क्षेत्रको नाम वर्नालु भएको भन्ने प्रसंग जोसमुनी साहित्यमा पाइन्छ ।
वडा नम्बर ६ को नाम जन्तरखानी रहनाको कारण :
यो तामाखानी रहेको क्षेत्र हो । कुनै समय घरको छाना छाउन ढुङ्गा खन्ने गरिन्थ्यो । ढुङ्गा खानीमा जन्तरको आकृति भएका ढुङ्गाका टुक्राहरु प्रशस्त भेटिन्थे । स्थानीय रुपमा यस्ता टुक्राहरुलाई जन्तरको रुपमा केटाकेटीहरुले लगाउथे । जन्तर जस्ता पत्थरहरुलाई शुभ मानिन्थ्यो । यही आधारमा जन्तर र खानी शब्दको संयोजन भई जन्तरखानी नामाकरण भएको हो भन्ने भनाई रहेको छ ।
वडा नम्बर ७ को नाम विगुटार रहनाको कारण :
किराँत शासनकालमा टक (पैसा) काटने प्रचलन थियो । सो समयमा यहाँ त्यस्तो टक (पैसा) काटिने भएकोले टक्सार भन्ने गरिन्थ्यो । विगु नामका ब्यक्तिले त्यस क्षेत्रको सुरक्षा गर्दथे । यही टक्सारको तल्लो समथर भागमा आवादी बाक्लो हुन थालेपछि कालान्तरमा यसको नाम विगुटार भनिएको हो भन्ने भनाई रहेको छ ।
वडा नम्बर ८ को नाम सल्लेरी रहनाको कारण :
जैविक विविधताले भरिएको यस स्थानमा सिर्सिर चिसो हावा चलिरहने, मनोरम हावापानी देखेर पूर्वी नेपाल एकीकरणका फौजी कमाण्डर रामकृष्ण कुँवरले लगलगे क्षेत्रको भूभागलाई सल्लेरी नामाकरण गरेका थिए भन्ने भनाई चार्ल्स मोदगुलले The Gurkha Conquests भन्ने पुस्तकमा उल्लेख गरेका छन् ।
वडा नम्बर ९ को नाम ज्यामिरे रहनाको कारण :
किराँतकालीन समयमा वल्लो किराँत क्षेत्र हेर्ने ज्यामे नाम गरेका किराँत प्रशासक थिए । मोलुङ् आसपासको क्षेत्रमा ज्यामेले वल्लो किराँतको किपट प्रथा अन्तरगतको कर उठाउने काम गर्थे भन्ने कुरा इतिहासकार ग्रियर्सनको Gurkhas भन्ने पुस्तकको पेज नं.९६ मा ज्यामेर रैंकर शब्दको प्रशस्त रुपमा प्रयोग भएको हुनाले पछि वस्ती विस्तार शुरु भएपछि नेपाली भाषामा ज्यामे र रैंकर शब्दको योगबाट नै ज्यामिरे बनेको भन्ने भनाई रहेको छ ।
वडा नम्बर १० को नाम बेतिनी रहनाको कारण :
हालको बेतिनी क्षेत्र कुनै समय वल्लो किराँत अन्तर्गत शासित थियो । बेति नाम गरेका ब्यक्तिले यस क्षेत्रको प्रशासन हेर्ने गर्दथे । यहाँ ब्वासो बास बस्ने एउटा ओडार थियो, त्यस स्थानमा जनघनत्व बढदै जाँदा बेती, ब्वाँसो, बेतघारी शब्दबाट भाषिक सुधार भई यस स्थानको नाम बेतिनी रहन गएको भन्ने भनाई टेनियल राइटको History of Nepal भन्ने पुस्तकको पेज नं.२७ मा उल्लेख छ ।
वडा नम्बर ११ को नाम ओखलढुङ्गा रहनाको कारण :
किम्वदन्ती अनुसार महाभारतको पात्र भिमसेनले यहाँको ढुङ्गालाई ओखल बनाई धान कुटेर खाएकोले यसलाई प्राचिन कालदेखी नै ओखलढुङ्गा भनिएको जनश्रुती छ । अर्को प्रसंगमा मल्लकालीन राज्य विस्तारको क्रममा लक्ष्मी नरसिंह मल्लले आफ्ना काजी भिम मल्लको नेतृत्वमा यहाँ पठाएको सेनाले खानको लागि नजिकै गाउँबाट ल्याएको धान यहाँकै ठुलो ढुङ्गामा कुटेर खाएकोले यस ठाउँको नाम ओखलढुङ्गा रहेको हो भन्ने लोकोक्ति रहेको छ ।
वडा नम्बर १२ को नाम ओखलढुङ्गा रहनाको कारण :
किम्वदन्ती अनुसार महाभारतको पात्र भिमसेनले यहाँको ढुङ्गालाई ओखल बनाई धान कुटेर खाएकोले यसलाई प्राचिन कालदेखी नै ओखलढुङ्गा भनिएको जनश्रुती छ । अर्को प्रसंगमा मल्लकालीन राज्य विस्तारको क्रममा लक्ष्मीनर सिंह मल्लले आफ्ना काजी भिम मल्लको नेतृत्वमा यहाँ पठाएको सेनाले खानको लागि नजिकै गाउँबाट ल्याएको धान यहाँकै ठुलो ढुङ्गामा कुटेर खाएकोले यस ठाउँको नाम ओखलढुङ्गा रहेको हो भन्ने लोकोक्ति रहेको छ ।